मुख्यमन्त्री शर्मालाई दोस्रो पटक विश्वासको मत
  • राष्ट्रपाेष्ट

  • कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । शुक्रबार सभामुख नन्दा गुरुङले मुख्यमन्त्रीले विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा बहुमत सदस्यले विश्वासको मत दिनुभएको हो ।

    मुख्यमन्त्री शर्मालाई राप्रपा बाहेकका सबै दलहरूले विश्वासको मत दिएका छन् । ४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा  ३९ जना मतदानमा सहभागी भएका थिए । मुख्यमन्त्री शर्माको पक्षमा ३८ जना प्रदेश सभा सदस्यहरूको विश्वासको मत दिएका छन् भने विपक्षमा १ मत परेको छ ।

    माओवादी केन्द्रको संसदीय दलका नेता समेत रहनुभएका मुख्यमन्त्री शर्मा गत पुस २७ गते नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा मुख्यमन्त्रीमा नियुक्ति हुनुभएको थियो । उहाँले माघ ६ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

    राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले फेरि विश्वासको मत लिनुभएको हो । दोस्रो पटक विश्वासको मत लिँदा शर्मालाई राप्रपाबाहेक काँग्रेस, एमाले, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन् । केन्द्रमा बनेको एमाले–माओवादीसहित गठबन्धन भत्किए पनि एमालेले कर्णाली प्रदेशमा समर्थन कायमै राखेको छ ।

    यसअघि विश्वासको मत नदिएको काँग्रेसले भने यस पटक मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको हो । कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४,  माओवादी केन्द्रको १३, नेकपा (एमाले) का १०, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक–एक जना प्रदेश सभा सदस्य रहेका छन् ।

    मुख्यमन्त्री शर्माले कर्णालीको विकास र समृद्धिका लागि सबैमा एकता हुनुपर्ने बताउनुभयो । सबै दल तथा प्रदेश सभा सदस्यसँग विश्वासको मत माग्नुभएको थियो । उहाँले प्रदेश सभामा बोल्दै सरकारले रोजगार, उत्पादनलाई विशेष जोड दिएको बताउनुभयो । उहाँले कर्णालीको विकासका लागि ठूलो लगानीको समेत आवश्यक रहेको बताउनुभयो ।

  • १७ चैत्र २०७९, शुक्रबार २१:०५ प्रकाशित