भनी हेरेको भए मैले,
उसले झारिदिने थियो
आकाशका जुन र तारा
मेरै पाउमा
तर मैले कहिल्यै भनिनँ।
जुन खसे आकाश रित्तो हुन्छ
तारा खसे अनिष्ट हुन्छ
हामीलाई त यौटा टुकी आफैं बाल्नु थियो
मिलीजुली धागो काट्नु थियो अनि तेल थप्नु थियो !
मागी हेरेको भए मैले
ठड्याइदिने थियो उसले,
ताजमहल र सिसमहल
मेरै सामुमा
तर मैले कहिल्यै मागिनँ।
शाहजहाँको विरह त्यो ताजमहल
ढुङ्गाको त्रासमा टल्किने सिसमहल
हामीलाई त आफ्नो सानो झुपडी आफैं बनाउनु थियो
ढुङ्गा फोर्नु थियो अनि माटो मुछ्नु थियो !
आग्रह गरेको भए मैले
लेखिदिने थियो उसले,
एउटा महाकाव्य
मेरै नाउँमा
तर मैले कहिल्यै गरिनँ।
म अपूरो महाकाव्य अर्थहीन हुने थिएँ
हामीलाई त हाम्रा पूर्ण कथाहरू आफैं लेख्नु थियो
वर्णमालाका अक्षरहरू जोड्नु अनि मोड्नु थियो
आफ्नो भाष्य आफैं निर्माण गर्नु थियो !
चाह गरेको भए मैले
रोपिदिने थियो उसले,
एउटा कल्पवृक्ष
मेरै आँगनमा
तर मैले कहिल्यै चाहिनँ।
स्वर्गको मोह हो कल्पवृक्ष
हामीलाई त दुई कोपिला आफ्नै हुर्काउनु थियो
यही धरतीमा
मायाले सिञ्चन गर्नु थियो !
मागी हेरेको भए उसले
मैले पनि त गाभिदिने थिएँ,
सहर्ष, विनाप्रश्न, विनासर्त
मेरो भागको जीवन
उसकै भागमा।
तर उसले कहिल्यै मागेन
बरु भनिदियो
बाँचुन्जेल सँगै बाँचौंला
मरे सँगै जलौंला !