केपी ओली कपको उदघाटन खेलमा सातदोबाटो र पुलिस भिड्ने
  • राष्ट्रपाेष्ट

  • फागुन ११ गतेदेखि हुन लागेको केपी ओली कप राष्ट्रिय फुटबल बल प्रतियोगिताको उदघाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

    आज आइतबार गरिएको ड्र अनुसार दोश्रो दिन फागुन १२ गते नेपाल आर्मी र न्युरोड टिम एनअरटीबीच खेल हुने छ ।

    फागुन १२ गते नै हुने दोस्रो खेलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइजबीच प्रतिस्पर्धा हुने छ । १३ गते केपी ओली फुटबल क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।

    यो प्रतियोगिता आयोजना गर्नकै लागि केपी ओली फुटबल क्लब गैरनाफामूखी संस्थाका रुपमा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेको नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

    उनले यही प्रतियोगिताका लागि केपी ओली फुटबल क्लबले खेलाडी र प्रशिक्षकसँग सम्झौता गरेको पनि बताए ।

    पहिलो र दोस्रो खेलको विजेताले १४ गते पहिलो सेमिफाइनल खेल्ने छन् । तेस्रो र चौथो खेलको विजेताबीच फागुन १५ गते खेल हुने छ । यी सबै खेल एन्फा कम्लेक्स सातदोबाटोमा हुने छन् । तर फाइनल खेल भने फागुन १७ गते दशरथ रंगशालामा हुने छ ।

    आयोजकका अनुसार प्रतियोगिताको केपी ओली कपको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

    आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो ।

  • २९ माघ २०७९, आईतवार १५:३९ प्रकाशित