कर्मचारीसँग विवाहेत्तर सम्बन्धले नगरप्रमुखको राजीनामा
  • राष्ट्रपाेष्ट

  • क्यानडेली शहर टोरन्टोका प्रमुख जोन टोरीले कर्मचारीसँगको आफ्नो विवाहेत्तर सम्बन्धलाई लिएर राजीनामा दिएका छन् । विवाहित उनले कर्मचारीसँगको नाजायज सम्बन्धलाई स्वीकार गर्दै राजीनामा दिएका हुन् ।

    शुक्रबार अबेर पत्रकार सम्मेलन गरेर उनले महामारीका बेला आफूले एक जना कर्मचारीसँग सम्बन्ध कायम गरेको तथा नगरप्रमुखका निम्ति त्यो काम शोभनीय नभएकाले पदबाट राजीनामा गरेको बताए । आफ्ना गल्ती मनन गर्न तथा परिवारको विश्वास पुनःआर्जन पनि आफूले पदबाट राजीनामा गरेको उनले बताए ।

    टोरन्टो स्टारले उनको नाजायज सम्बन्धसम्बन्धी समाचार प्रकाशन गरेको एक घण्टा पछि उनले पदत्याग गरेका हुन् ।

    विवाहभन्दा बाहिरको आफ्नो त्यो सम्बन्धलाई गम्भीर त्रुटीका रुपमा स्वीकार गर्दै ६८ वर्षीय टोरीले टोरोन्टोका जनता, आफ्ना सहकर्मी, श्रीमती र परिवारसँग क्षमा याचना गरेको पत्रकारहरूलाई बताए ।

    पारस्परिक सहमतिमा विवाहभन्दा बाहिरको सम्बन्धलाई अन्त्य गरेको तथा त्यससम्बन्धमा शहरका सम्बन्धित अधिकारीलाई जानकारी दिएको उनले बताए ।

    तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका टोलीले चार महिना नपुग्दै पदबाट राजीनामा दिएका हुन् । एएफपी

  • २९ माघ २०७९, आईतवार १५:३२ प्रकाशित