मंसिर ४ गतेको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अधिकांश केन्द्रीय नेताहरु नै अन्तरघातमा संलग्न रहेको पाइएको छ । पार्टीका केन्द्रीय कार्यकारी समिति सदस्य शिबलाल थापा नेतृत्वको छानवीन समितिले अहिलेसम्म करिब ४० जना केन्द्रीय नेताहरुसँग बयान लिइसकेको छ ।
मोरङ, सप्तरी, सिराहा, धनुषा ,महोत्तरी, सर्लाही, बर्दिया, कैलाली, सुर्खेत जिल्लामा पुगी समितिले आरोपितहरुसँग बयान लिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
जसपाले सुनसरी, पाँचथर, धादिङ, मकवानपुर जिल्लाको विषयमा पनि छानबिन गरिरहेको छ । सबै छानबिन र बयान सकिएपछि समितिले आफ्नो प्रतिवेदन बुझाउने उनको छ ।
अन्तरघातको आरोप पुष्टि भएमा उनीहरुमाथि पार्टी विधानले गरेको व्यवस्था बमोजिमको कारवाही हुने जसपाले जनाएको छ । जसपाले अन्तरघातको चर्को गुनासो आएपछि थापा नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
पार्टीको राजनीतिक समितिको बैठकले छानबिन समितिलाई आफ्नो कार्य सम्पन्न गर्न माघ मसान्तसम्मको समय सीमा दिएको थियो ।