नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक लाइभ हुने
  • राष्ट्रपाेष्ट

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रिय  समिति बैठक लाइभ गर्ने प्रस्ताव राखेका छन्।

    देउबा निवास धुम्बाराहीमा आइतबार  भएको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले केन्द्रीय समिति बैठक पार्टीको आधिकारिक फेसबुक पेज, अनलाइन, टेलिभिजन लगायतबाट लाइभ गर्ने प्रस्ताव गरेका हुन्।नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाका अनुसार ‘भोलिको केन्द्रीय समिति बैठक लाइभ गर्नेबारे छलफल भयो। धेरै व्यक्तिहरू लाइभ गर्न सहमत हुनुभयो, केहीले लाइभ हुँदा नेताहरूले मनदेखि बोल्दैनन् भन्ने विषय राख्नुभयो,’ कोइरालाले भने, ‘भोलि लाइभ गरौं र समीक्षा गरेर अघि बढ्ने कुरा भएको छ। भोलि सायद लाइभ हुन्छ। त्यसको प्रतिक्रिया हेरेर निरन्तरता दिने कि नदिने निर्णय हुन्छ।’

    केन्द्रीय समिति बैठकमा धारणा राख्दा नबोलेका विषयहरु  पनि नेताहरूले पछि मिडियामा बोल्ने गरेको भन्दै सभापति देउवाले यसअघि नै बैठक लाइभ गर्नुपर्ने बताउँदै आएका थिए।

    केन्द्रीय समिति बैठकमा नीति अधिवेशनको मिति तय गर्ने र राष्ट्रव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नेजस्ता विषयमाथि पनि छलफल हुनेछ।

    साथै पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर कारागारमा रहेको र उनलाई पार्टीले अहिलेसम्म निलम्बन नगरेको विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।

    सहमहामन्त्री फरमुल्लाह मन्सुरका अनुसार केन्द्रीय समितिमा छलफल हुने एजेन्डा करिब तय भइसकेको छ।

    समसामयिक राजनीतिक घटनाक्रम, प्रतिनिधि सभा निर्वाचन परिचालन समिति संयोजक गोपालमान श्रेष्ठले प्रतिवेदन पेश गर्ने, नीति अधिवेशनको मिति तय गर्नेजस्ता विभिन्न ९ एजेन्डामाथि केन्द्रीय समितिमा छलफल हुनेछ।

    सहमहामन्त्री मन्सुरका अनुसार सभापति देउवाले केन्द्रीय समिति बैठक कांग्रेसको आधिकारिक फेसबुक पेजलगायतबाट लाइभ गर्ने प्रस्ताव पनि गरेका हुन्।

    महामन्त्री विश्वप्रकाश शर्माका अनुसार केही विभाग थप गर्नुपर्ने र केही विभागको थप व्याख्या गर्नुपर्ने छ। त्यसबारे पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेस विधानअनुसार २८ विभाग छन्। अहिलेसम्म प्रचार विभाग मात्रै गठन गरिएको छ।

    केन्द्रीय समिति बैठकमा अनुशासन समिति संयोजक आनन्द ढुंगानाले प्रतिवेदनसमेत पेश गर्ने एजेन्डा छ। साथै संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले चुनावपछि अहिलेसम्म संसदमा कांग्रेसले खेलेका भूमिकाबारे प्रतिवेदन पेश गर्ने एजेन्डा पनि छ।

    उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारका कामकारबाहीबारे पनि केन्द्रीय समितिमा जानकारी दिनेछन्।

    ‘समसामयिक राजनीतिदेखि सरकारका सन्दर्भसम्म, सांगठानिक गतिविधिदेखि राष्ट्रव्यापी अभियानसँग सम्बन्धित आन्तरिक र बाह्य समग्र विषयबारे केन्द्रीय समितिमा छलफलका लागि प्रस्ताव गरिन्छ,’ महामन्त्री शर्माले भने।

    कांग्रेस केन्द्रीय समिति बैठक करिब एक साता चल्नेछ।

  • १ श्रावण २०८०, सोमबार १८:०६ प्रकाशित