आदरणीय महामन्त्रीज्यू, जय नेपाल
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा तपाई महामन्त्रीको उम्मेदवार बन्दै गर्दा धेरैले गुट हेरेनन् । तपाईकै गुटबाट चुनाव लडेका अरु नेताहरुले पाएको मत र तपाईको मत हेर्दा नै प्रष्ट हुन्छ । सबैले आश गरेको र कांग्रेसको मात्रै नभएर देशकै नेतृत्व गर्ने नेताका रुपमा कांग्रेस महाधिवेशन प्रतिनिधिले तपाईलाई आँखा चिम्लेर मत दिए ।
तपाईलाई मात्रै जिताएनन्, अर्का युवा नेता विश्वप्रकाश शर्मालाई पनि महामन्त्री पदमा जिताए । कमजोर टीमबाट चुनाव लडेर पनि महाधिवेशन प्रतिनिधिको विश्वासले विश्वप्रकाशले पनि चुनाव जिते ।
कांग्रेसको पार्टी संरचनामा सभापतिपछि बलियो पद मानिन्छ, महामन्त्री । एकप्रकारले भन्ने हो भने कार्यकारी पद हो महामन्त्री । पार्टी कार्यालय सञ्चालनदेखि संगठन हाँक्ने जिम्मेवारी नै महामन्त्रीको हुन्छ । महाधिवेशनका बेला तपाई दुबै जना महामन्त्रीका उम्मेदवारले गरेका प्रतिवद्धतालाई नै विश्वास गरेर मत दिएका हुन्, महाधिवेशन प्रतिनिधिले ।
तर महाधिवेशन सम्पन्न भएको एक वर्ष नपुग्दै तपाईहरुले महामन्त्री पदको कति न्याय गर्नुभयो, त्यसको समिक्षा पक्कै गर्नुभएको होला । तर हामी बाहिर बसेर हिजो तपाईलाई मत दिएका धेरै महाधिवेशन प्रतिनिधिहरु पनि तपाईहरुको गतिविधिप्रति सन्तुष्ट देखिदैनन् । या भनौं, खुसी छैनन् ।
अबको चार वर्ष सफलतापूर्वक महामन्त्रीको पद सम्हालेर पार्टीलाई बलियो बनाउने र त्यसपछि पार्टी र देशकै नेतृत्व गर्ने आशा गरेका हुन्, देशभरका कांग्रेसीहरुले तपाईहरुबाट । तर डेढ वर्षमै महामन्त्री पद नै भारी भएको हो कि पदीय महत्व नै बुझ्न सक्नुभएन, यो तपाई जान्नुहोला ।
इतिहासमै कांग्रेसको महामन्त्री पद कमजोर देखिएको छ । पार्टीभित्र र बाहिरबाट अत्यन्तै सम्भावना ठानेका र विश्वास गरेका दुई युवा नेता महामन्त्री पदमा हुँदा पनि किन यस्तो अवस्था आयो ? महामन्त्रीको पदको गरिमा र साख किन यति कमजोर ?
तर तपाईहरुको गतिविधिले पनि कांग्रेस बलियो होइन झनै कमजोर र विभक्त बनाउने काम भएका छन् । पार्टीभित्रबाटै जसरी तपाईहरुले नेतृत्वमाथि निरन्तर प्रहार गर्नुभएको छ र सार्वजनिक छवि धुमिल्याउने काम गर्नुभएको छ, यसले सिंगो पार्टीप्रति नै आमनागरिकमा नकारात्मक सन्देश गएको छ । यो कुराप्रति तपाईहरुमा कति पनि चिन्ता भएको पाइदैन ।
तपाईहरु जसरी महाधिवेशनबाट निर्वाचित हुनुभयो, त्यहि प्रक्रिया र उनै मतदाताबाट निर्वाचित भएका हुन् सभापति । सभापतिमा को छ, त्यो गौण कुरा हो । पद महत्वपूर्ण हो । सभापतिको पदको अवमूल्यन र अपमानमा जति समय खेर फाल्नुभएको छ, पार्टी हीत र कार्यकर्ताका पक्षमा तपाईहरुबाट उति काम भएको हामीले सुनेका छैनौं ।
महामन्त्री निर्वाचित भएको डेढ वर्षमै विशेष महाधिवेशन गर्नुपर्ने बाध्यता तपाईहरुलाई किन आयो ? विधानतः कार्यकाल अझै साढे दुई वर्ष बाँकी छ । तर विशेष महाधिबशेन गर्नुपर्ने तपाईहरुको लविङ किन र के का लागि ? भन्ने प्रश्नको उत्तर रहस्यमय छ । आफूलाई मन नपरेको नेतृत्वका विरुद्ध यसरी नै प्रहार गर्ने हो भने भोलीका दिनमा तपाईहरुले पनि यस्तै नियति भोग्नु नपर्ला भन्न सकिन्न ।
१४ औं महाधिवेशन यताको डेढ वर्षको अवधिलाई मुुल्यांकन गर्ने हो भने नेपाली कांग्रेस पार्टीको साख र हैसियत दुवै बढेको छ । यसको जस स्वभाविक रुपमा नेतृत्वलाई जान्छ । स्थानीय तह देखि संघसम्म कांग्रेसको आकार फैलिएको छ । सात वटै प्रदेशमा कांग्रेस सरकारमा छ भने केन्द्रमा पनि सबैभन्दा बढि मन्त्रीसहित सरकारमा छ । यो सबै सभापति शेरबहादुर देउवाको नेतृत्वको सफलता हो । तपाईहरुलाई यो सफलता देखेर किन रिस ?
बिडम्बना भन्नुपर्छ, इतिहासमै कांग्रेसको महामन्त्री पद कमजोर देखिएको छ । पार्टी भित्र र बाहिरबाट अत्यन्तै सम्भावना ठानेका र विश्वास गरेका दुई युवा नेता महामन्त्री पदमा हुँदा किन यस्तो अवस्था आयो ? महामन्त्रीको पदको गरिमा र साख किन यति कमजोर ? दुखका साथ भन्नुपर्छ, कतिपयले त दुई महामन्त्री नेविसंघको महामन्त्रीभन्दा माथि उठ्न नसकेको आरोप लगाइरहेका छन् । के अवस्था यस्तै हो ?
महामन्त्री पदको गरिमा र साख घट्नुकै कारण विशेष महाधिवेशन चाहिएको हो भने यो महाधिवेशनको प्रतिनिधिकै अपमान हो । उनीहरुको मतको अवमूल्यन हो । बरु काम गर्न नसके राजीनमा दिने बाटो विधानले सुरक्षित गरेको छ । तर आफ्नो कमजोरी लुकाउन नेतृत्वको बद्ख्वाई गर्नु कति न्यायोचित हो ?
विधानमा उल्लेख भएको महामन्त्रीको भूमिका र जिम्मेवारी निर्वाह गर्न कहीँकतैबाट अवरोध भएको छ भने सार्वजनिक रुपमै भन्न सक्नुपर्छ । कार्यकर्ताले तत्काल खवरदारी गरिहाल्छन् । तर महाधिवेशन भएको डेढ वर्ष वित्दा नवित्दै आफ्नो कमजोरी लुकाउन विशेष महाधिवेशन गर्नुपर्ने माग कांग्रेस विरोधीहरुका लागि त निकै कर्णप्रिय होला तर हामीजस्ता कांग्रेसका सच्चा कार्यकर्ताले पचाउन सक्दैनन् ।
आफ्नो सार्वजनिक छवि जोगाउन नेतृत्वलाई बद्नाम गर्ने कार्य असल कार्यकर्ताका लागि शोभनीय कार्य लाग्दैन । हामीलाई पनि निको लागेको छैन । नेतृत्वका प्रति गुनासा भए महामन्त्रीले सिधै भेटेर भन्न सक्नुपर्छ । कि महामन्त्रीलाई सभापतिले समय नदिएको हो भने सार्वजनिक रुपमा भने भो । तर सभापतिसँग संवाद नगर्ने तर सार्वजनिक सञ्चारमाध्यम र समाजिक सञ्जालमा नेतृत्वविरुद्ध विषवमन गर्ने कार्यले हामी कसैलाई फाइदा गर्दैन । महामन्त्रीज्यू, आफ्नै घर पोलेर आगो ताप्नु कत्ति पनि बठ्याई होइन ।
स्थानीय तहदेखि संघसम्म कांग्रेसको आकार फैलिएको छ । सात वटै प्रदेशमा कांग्रेस सरकारमा छ भने केन्द्रमा पनि सबैभन्दा बढि मन्त्रीसहित सरकारमा छ । यो सबै सभापति शेरबहादुर देउवाको नेतृत्वको सफलता हो । तपाईहरुलाई यो सफलता देखेर किन रिस ?
कांग्रेसमा सभापति र महामन्त्री पदको व्यवस्था गरिएको अहिले भरखरै होइन, स्थापनाकालदेखिकै हो । अहिलेसम्म कांग्रेसमा सभापतिहरु करिव आधा दर्जन जति मात्रै भए । महामन्त्रीहरु करिव तीन दर्जन जति भए । तर कसैले पनि पार्टी सभापतिलाई खुइल्याउने एक सुत्रीय अभियान कहिल्यै बनाएनन् ।
पार्टी सभापतिको साख घट्नु भनेको पार्टीको साख घट्नु हो । पार्टीको साख घट्दा आफ्नो पदको पनि साख घट्छ भन्ने कुरामा विगतका महामन्त्रीहरुले बुझे । तर तपाई युवा भनिएकै महामन्त्रीहरु भने यसको विपरीत जानुभयो । हुन त, तपाईहरु परम्पराको निरन्तरताा भन्दा पनि क्रमभंगतामा विश्वास गर्नुहुन्छ होला तर घर जलाएर खरानी घस्ने कार्य कति बुद्धिमानी होला ! सोच्नुपर्ने होइन र ?
तत्कालिन महामन्त्रीहरु तुलसी गिरी, राजेश्वरी उपाध्याय, परशुनारायण चौधरी, श्रीभद्र शर्मालगायतहरु पनि नेतृत्वविरुद्ध सार्वजनिक रुपमा बोलेको हामीले इतिहासमा भेटेका छैनौं । उनीहरु जुन दिनसम्म महामन्त्री पदमा रहे, त्यो दिनसम्म सभापतिलाई कमजोर गर्ने गतिविधिमा लागेनन् ।
वीपी कोइरालाले त महामन्त्रीका रुपमा श्रीभद्र शर्मा र परशुनारायण चौधरीले निर्वाह गरेको भूमिकालाई आफ्नो आत्मवृतान्तमा मुक्तकण्ठले प्रशंसा गरेका छन् । यहाँहरुजस्तो युवा महामन्त्रीबाट हामीले खोजेको भूमिका पनि यस्तै होइन र ?
लोकतान्त्रिक व्यवस्थामा नेतृत्वको पनि खुलेर विरोध गर्न पाइन्छ । पार्टी सभापतिले त झन् आलोचना गर्नुलाई लोकतन्त्रको सौन्दर्यता नै भनेका छन् । तर नेतृत्वलाई खुइल्याउने गरी अभियान नै चलाउने कार्यले पार्टीलाई हीत गर्छ महामन्त्रीज्यू ?
कहिलेकाहीँ पार्टी सभापति र महामन्त्रीको काम गर्ने शैली तथा गति नमिल्न सक्छ । दृष्टिकोणमा एकरुपता नहुन पनि सक्छ ।
यस्तो अवस्थामा महामन्त्री जाने भनेको कार्यकर्ता र जनताबीच हो । कांग्रेस विरोधीहरु कहाँ होइन । उदाहरणका लागि, वीपी कोइरालाको निधन भएको केही महिना वित्दा नवित्दै तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीच पार्टीको संगठन गर्ने शैली तथा गतिमा मतभिन्नता देखिन पुग्यो । कतिपय दृष्किोणहरुमा पनि एक रुपता हुन सकेन । यही दरारमा टेकेर त्यतिबेला कांग्रेस विरोधी मिडियाहरुले खेल्न नखोजेका होइनन् ।
पार्टी सभापतिको अवमूल्यन र अपमानमा जति समय खेर फाल्नुभएको छ, पार्टी हीत र कार्यकर्ताका पक्षमा तपाईहरुबाट उति काम भएको हामीले सुनेका छैनौं, महामन्त्रीज्यू ।
महामन्त्रीज्यू, त्यतिबेला महाधिवेशन नभएको वर्षौ भइसकेको थियो । कृष्णप्रसाद भट्टराईको हैसियत कार्यवाहक मात्रै थियो । महाधिवेशन कहिले हुने हो ? कुनै टुंगो नै थिएन । चाहेको भए महामन्त्री कोइरालाले विशेष महाधिवेशनको कुरा उठाउन सक्थे ।
विशेष महाधिवेशनका लागि सभापति भट्टराईलाई वाध्य पार्न सक्थे । तर महामन्त्री कोइराला हरदम कार्यकर्ता र जनताबीच गइरहे । मिडिया तथा वुद्धिजीविहरुसँगको संवादमा केन्द्रित रहे । महामन्त्रीले पार्टीलाई कतिसम्म बलियो बनाउन सक्दो रहेछ ? भन्ने उदाहरण कोइरालाले पेश गरे । काम गर्नेको मुल्यांकन पनि कार्यकर्ताले गरे ।
२०४८ सालको आमनिर्वाचनमा उमेद्वार तय गरेको सभापति भट्टराईले हो । कांग्रेसले १ सय १० सिट जित्यो । पछि कित्ताकाट हुँदा ७४ जना कोइरालाको पक्षमा देखिए । सभापति भट्टराईको पक्षमा जम्मा ३६ जना देखिए । तै पनि कोइरालाले विशेष महाधिवेशनको कुरा उठाएनन्, नियमित महाधिवेशन पर्खिए ।
आन्तरिक प्रतिस्पर्धामा हारजीत हुन्छ तर आफ्नो पराजय वा आफूले नरुचाएको व्यक्तिले जित्यो भन्दैमा अनावश्यक रुपमा विवाद झिक्ने र दुनियाँलाई रमिता देखाउने काम कदापी राम्रो होइन । कि पार्टी विधानमै महामन्त्रीले सभापतिको प्रतिपक्षमा भूमिका निर्वाह गर्नुपर्ने कुरा उल्लेख गरौं ?
महामन्त्रीज्यू, विगतका महामन्त्री हिँडेको बाटोभन्दा तपाईहरु फरक रुपमा अगाडि बढ्न खोज्नुभएको छ । तपाई देउवालाई पराजित गरेर महामन्त्री बन्नुभएको होइन । संसदीय दलको नेताको निर्वाचनको परिणामले पनि धेरै कुरा बताउँछ ।
आन्तरिक प्रतिस्पर्धामा हारजीत हुन्छ तर आफ्नो पराजय वा आफूले नरुचाएको व्यक्तिले जित्यो भन्दैमा अनावश्यक रुपमा विवाद झिक्ने र दुनियाँलाई रमिता देखाउने काम कदापी राम्रो होइन । कि पार्टी विधानमै महामन्त्रीले सभापतिको प्रतिपक्षमा भूमिका निर्वाह गर्नु पर्ने कुरा उल्लेख गरौं कसो महामन्त्रीज्यू !
कांग्रेसले लामो कालखण्डसम्म सभापति मात्रै निर्वाचित हुने र अरु संगठन सभापतिले नै निर्माण गर्ने अभ्यास गरेको थियो । त्यो बेला पार्टी असफल या सफल हुँदाको जसअपजसको जिम्मेवारी सभापतिको काँधमा बढी हुन्थ्यो । तर पछिल्लो कालखण्डमा सबै पदाधिकारी महाधिवेशनद्वारा नै निर्वाचित हुन्छन् ।
विधानद्वारा नै पदाधिकारीको भूमिका निर्धारण गरिएको छ । यस्तो अवस्थामा सभापति असफल हुने, पदाधिकारी सफल हुने वा सभापति सफल हुने, पदाधिकारी असफल हुने भन्ने नै हुँदैन । केटाकेटीले पनि बुझ्छन् यति सामान्य कुरा त, होइन र महामन्त्रीज्यू ?
तपाईको असल शुभेच्छुक र पार्टीको हीत चाहने इमान्दार कार्यकर्ताको हैसियतले यो पत्र लेख्ने आँट गरेको हुँ महामन्त्रीज्यू । रिसानी माफ पाउँ । जय नेपाल !
नेपालमन्चबाट साभार