काभ्रेको भुम्लुमा कीर्ते गरेर गुम्बा समितिको ५ लाख हिनामिनाको आरोप
  • राष्ट्रपाेष्ट

  • काभ्रेको भुम्लु गाउँपालिकाका एक गुम्बा पुनर्निर्माण समितिको बैंक खातामा रहेको ५ लाख रुपैयाँ गाउँपालिकाका अध्यक्षकै मिलेमतोमा हिनामिना भएको आरोप लागेको छ ।

    भुम्लु–५ मुलाबारीस्थित होद्सल घोङ क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माण उपभोक्ता समितिका सचिव र कोषाध्यक्ष परिवर्तन गरी राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको ५ लाख रुपैयाँ निकालिएको हो ।

    गाउँपालिकाले दिएको रकमबाट गुम्बामा योजना अनुसार काम गरेर बाँकी रहेको ५ लाख रुपैयाँ अध्यक्ष डुक्मा दोर्जे लामाको योजना र गाउँपालिका अध्यक्ष प्रेम भुजेलको मिलेमतोमा निकालिएको उपभोक्ता समिति गठन हुँदा सचिव रहेका अमृत लामाले आरोप लगाए ।

    उनका अनुसार गत १८ साउनमा ७ सदस्यीय समितिका अध्यक्ष डुक्मा दोर्जे लामाबाहेक अरुको कीर्ते हस्ताक्षर गरी बैठकको माइन्युट बनाइएको थियो । सो माइन्युटमा उपभोक्ता समितिको सचिव र कोषाध्यक्ष परिवर्तन गरेको निर्णय उल्लेख गरिएको थियो । उपभोक्ता समिति गठन हुँदा सचिव अमृत लामा र कोषाध्यक्ष अनिता गुरुङ थिए ।

    तर पछि अमृत समितिबाट निकालिए भने अनिता सचिव भइन् र कोषाध्यक्षमा तुलसीमान तामाङलाई राखियो ।

    ‘हामीलाई जानकारी नदिइकन समिति फेरियो, फेरिएकै समितिले अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षरबाट खाता चल्ने बनाए’, अमृतले भने ।

    यसरी कीर्ते हस्ताक्षर गरी गरिएको बैठकको निर्णयलाई गाउँपालिका अध्यक्ष प्रेम भुजेलले १९ साउनमै मान्यता दिएको अमृतले बताए । गाउँपालिका अध्यक्षले सिफारिस गरिदिएपछि अध्यक्ष डुक्मा र फेरिएका कोषाध्यक्ष तुलसीमानको हस्ताक्षरमा २२ साउनमा खाता बन्द गरी ५ लाख रुपैयाँ निकालियो । तुलसीमान गाउँपालिकाका प्रमुख सल्लाहकारसमेत हुन् ।

    ‘गाउँपालिकामा खाता बन्द गर्न भन्दै निवदेन दिएपछि गाउँपालिका अध्यक्षले सिफारिस दिए । त्यही सिफारिसको आधारमा समितिको खाताबाट ५ लाख रुपैयाँ निकालिएको छ,’ अमृतले भने ।

    गाउँपालिका अध्यक्ष प्रेम भुजेलले भने आफूले रीतपूर्वक आएको निवदेन मानेर सिफारिस गरेको बताए । ‘उहाँहरुले माइन्यूटसहित खाता बन्द गर्ने निर्णय लिएर आउनुभयो, काम सम्पन्न भएर गाउँपालिकाले भुक्तानी गरिसकेकाले समितिको खातामा पैसा छ भन्ने थाहा भएन मैले त कागज हेरेर बन्द गर्न सिफारिस गरेँ’, भुजेलले अनलाइनखबरसँग भने ।

    अध्यक्ष भुजेलले तुलसीमान पहिले नै कोषाध्यक्ष रहेको विश्वासमा सिफारिस दिएको पनि जिकिर गरे । ‘मलाई उपभोक्ता समिति फेरिएको थाहा थिएन, पहिलेबाट नै उहाँ कोषाध्यक्ष हुनुहुन्थ्यो भन्ने सोचेर सिफारिस गरेको हुँ’, उनी भन्छन् । गल्ती गरेको भए कारबाही गर्ने पनि अध्यक्ष भुजेलले बताए ।

    समितिका अध्यक्ष डुक्मा दोर्जे लामाले यो विषयमा अहिले नबोल्ने बताए । ‘यो कुरा कसरी बाहिरियो मलाई थाहा छैन, समितिमा कोही परिर्वतन भएको छैन’, अनलाइनखबरसँग लामाले भने । उनले खातामा भएको पैसाबारे समितिमा छलफल गरेर मात्रै बोल्ने बताए ।

  • १ फाल्गुन २०७९, सोमबार २०:१५ प्रकाशित