न स्वर्गको आश, न पृथ्वीको कुनै, पदले मातूँ म
मद्दत गरूँ म दत्तचित्त भई, मद्दतले मातूँ म
बेहोस हुन किन मात्नु ? के मात्नु बेहोसीमा
हरदिन हरदम होसको हदले मातूँ म
मातेर म झुक्दा पनि यहाँ, उठोस् कसैको शिर
नमात्नु मातिसकेपछि इज्जतले मातूँ म
मन्दिर हुँ म दिइरहुँ, म दिइरा बेला मदिरा हुँ
दिनुको, सिद्दिनुको, मदले मातूँ म
म कमजोरलाई नजितूँ, मेरो कमजोरीलाइ जितूँ
हरेक हारमा हरि पाउने हर्कतले मातूँ म
जोसँग बोल्दा मन खुसी होस्, नबोल्दा मौन खुसी
त्यस्तो संगीसँगको संगतले मातूँ म ।।