बेरियरमा परेका सूर्यबहादुर भन्छन्, ‘गाउँमा आमाबुवा छोरा डाक्टर पढेर आउँछ भन्ने आशामा बसेका छन्’
  • राष्ट्रपाेष्ट

  • त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)बाट बीडीएस पढिरहेका सूर्यबहादुर थापा बेरियरमा परे । बीडीएस पढेर दाँतको डाक्टर बन्ने सपना बोकेका थापाको सपना चकनाचुर भएको छ । किनकि आईओएमले उनलाई बीडीएस पढ्न असक्षम घोषणा गरिदिएको छ । त्यसका विरुद्धमा उनले सडकमा आन्दोलन गरे, राज्यलाई आफ्नो पीडा सुनाउँदा कहाँ कहाँ धाएनन् तर कहीँकतैबाट पनि न उनको पीडा सुनियो, न त उनको पीडामा मल्हम लगाउने काम भयो । भयो त केवल असक्षमको बिल्ला भिराउने काम मात्र ।

    आईओएमले त झन् उनलाई ‘चिकित्सा शिक्षा पढ्न नसक्ने’ भन्दै करियरमा ब्रेक लगाउने काम गर्‍यो । युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवामा बीडीएस पढेका थापाले मौका परीक्षाका लागि अहिले पनि अनुनय विनय गर्दै आएका छन् । तर अहिले आएर आईओएमले मौका परीक्षाको अवसर नै दिन नसकिने भनेर प्रष्ट पारेको छ ।

    आफूहरूभन्दा अगाडिका विद्यार्थीलाई भने मौका दिएको तर आफूहरूमाथि अन्याय गरिरहेको उनको भनाइ छ ।
    उनले पहिलो फेजको दोस्रो वर्षको एउटा विषय मात्र उत्तीर्ण गर्न बाँकी छ । तर आईओएमले उनलाई ‘अनफिट टु स्टडी मेडिकल एजुकेसन’ भनेर घर पठाइदिएको छ । उनीजस्तै ३०० भन्दा बढी विद्यार्थीलाई अयोग्य करार गरेर घर पठाएको छ । उनीहरू विगत दुई वर्षदेखि मौका परीक्षाको माग गर्दै सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले बेरियर सिस्टम किन फरक फरक गरिएको भन्दै राज्यलाई प्रश्नसमेत गर्दै आएका छन् । तर राज्यले त्यसको जवाफ दिन सकेको छैन ।

    गाउँघरमा छोरा डाक्टर बनेर आउँछ भन्ने आशामा आमाबुवा बाटो कुरेर बसेका छन् । तर राज्यले छोरालाई मेडिकल शिक्षा नै पढ्न अयोग्य करार गरिदिएको थाहा छैन ।

    ‘गाउँघरमा आमाबुवा छोरा डाक्टर पढेर आउँछ भनेर आशामा बसेका छन् । दिन कुर्दैै बसेका छन् । अब हामी कुन मुख लिएर घर जाने ? घरमा के भन्ने ? आमाबाबा मलाई राज्यले मेडिकल पढ्न असक्षम घोषणा गरिदियो भन्ने कसरी ?’ उनको प्रश्न छ ।

    एकातिर राज्यले आफूलाई मेडिकल शिक्षा पढ्न अयोग्य करार गर्ने अर्कोतिर हामीले तिरेको ५०औँ लाख रूपैयाँ भने कुम्ल्याउने काम गरिरहेको उनको भनाइ छ ।

    ‘मैले दुईवटा घडेरी बेचेर बीडीएस पढ्न आएको थिएँ । राज्यले त्यो पैसा सबै लियो तर हामीलाई पढ्न दिएन,’ उनले भने ।

    बेरियरका विषयमा संस्थानहरूमा फरक फरक सिस्टम छ । आफूहरूभन्दा अगाडिका विद्यार्थीलाई भने मौका दिएको तर आफूहरूमाथि अन्याय गरिरहेको उनको भनाइ छ ।

    त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फरक फरक बेरियर सिस्टम छ । काठमाडौँ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयमा समेत फरक फरक खालको प्रणाली रहेको उनीहरूको भनाइ छ ।

    ‘एउटै शिक्षा पढ्नका लागि कसैले ६ पटक मौका परीक्षा पाउने, हामीचाहिँ ४ पटकमै आउट हुनुपर्ने ? यो त हामीमाथि सरासर अन्याय भयो,’ उनले भने ।

    राज्यको विभेदकारी नीतिले धेरै विद्यार्थीले आत्महत्यासमेत गरेको उनको भनाइ छ । ‘२ जनाले आत्महत्या गरिसकेका छन् । अझै कतिले आत्महत्या गर्नुपर्ने हो ? कति जना प्रेमप्रसाद आचार्यले जस्तै आत्मदह गर्नुपर्ने हो ? यदि राज्यले त्यस्तै चाहेको हो भने हामी प्रेमप्रसाद बन्न तयार छौँ’ उनले आक्रोश पोखे ।

    तर बेरियरका विषयमा आईओएमले २०५० सालदेखि चल्दै आएको र उनीहरूको हकमा थप मौका दिन नसकिने प्रष्ट पारेको छ । त्यसका लागि विज्ञ कमिटी गठन गरेको थियो । उक्त कमिटीले समेत बेरियर सिस्टम ठीक रहेको र यसमा कुनै फेरबदल नगर्न सुझाव दिएको थियो । सोही आधारमा आईओएमले थप मौका परीक्षा दिन नसकिने प्रष्ट पारेको हो ।

  • १ फाल्गुन २०७९, सोमबार १९:५७ प्रकाशित